काठमाडौं,२७ असार । कीर्तिपुरस्थित बाढीपीडितका लागि बनाइएको होल्डिङ सेन्टरमा पुगेका युवा अभियन्ता माजिद अन्सारीसहित केही युवाको पक्राउप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले बाढीपीडितको नाजुक अवस्था बुझ्न तथा राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतका युवामाथि कुटपिट गरी नियन्त्रणमा लिनु “अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय” भएको बताएका छन्।
उनले राज्यको व्यवहारप्रति प्रश्न उठाउँदै लेखेका छन्, “करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?”
थापाले लोकतान्त्रिक व्यवस्थामा नागरिकले सरकारसँग प्रश्न सोध्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताएका छन्। उनका अनुसार सरकारको बलियोपन फरक मत र आलोचना सुन्ने क्षमतामा निर्भर रहने भएकाले आलोचनालाई दमन होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नुपर्ने दायित्व राज्यको हो।
उनले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो।”
सभापति थापाले पक्राउ परेका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
यस घटनाले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस सिर्जना गरेको छ। पक्राउको कारण, घटनाको वास्तविक अवस्था तथा सुरक्षा निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
