वीरगञ्ज, असार २८ । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको मदिरा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीमा उक्त सफलता हासिल भएको हो।
पर्सा प्रहरीका अनुसार मिति २०८३ असार २७ गते वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिक रहेको कस्तुरी कोल्ड स्टोर मा छापा मारेको थियो।
छापाका क्रममा भन्सार प्रक्रिया पूरा नगरी चोरी निकासीमार्फत अवैध रूपमा भण्डारण गरेर राखिएको विभिन्न ब्रान्डका मदिरा फेला परेको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले वीरगञ्ज महानगरपालिका–३ निवासी अन्दाजी ३६ वर्षीय दिपक प्रसादलाई नियन्त्रणमा लिएको छ। उनीमाथि भन्सार छली गरी मदिरा भण्डारण तथा कारोबार गरेको आशंकामा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको मदिरामा BHERI AMBITION ब्रान्डका ३८ कार्टुन तथा ५९ बोतल, कस्तुरी ब्रान्डका १० कार्टुन, Kingfisher ब्रान्डका क्यान बियर १ कार्टुन र Kingfisher ब्रान्डकै २२ बोतल बियर रहेको १ कार्टुन रहेको छ।
बरामद गरिएका सम्पूर्ण मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तथा घटनामा संलग्न अन्य व्यक्ति वा सञ्जाल भए/नभएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हालका दिनहरूमा भारतसँग जोडिएको सीमावर्ती क्षेत्र हुँदै हुने भन्सार छली, अवैध आयात तथा राजस्व छलिका गतिविधि नियन्त्रण गर्न पर्सा प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ। विशेष सूचनाका आधारमा गरिएका यस्ता अपरेशनले अवैध कारोबारमा संलग्न समूहलाई निरुत्साहित गर्नुका साथै राज्यको राजस्व संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
पर्सा प्रहरीले नागरिकलाई पनि अवैध आयात, भन्सार छली तथा चोरी निकासी सम्बन्धी कुनै जानकारी भए तत्काल प्रहरीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दै यस्ता गैरकानुनी गतिविधिविरुद्ध कारबाही निरन्तर जारी रहने स्पष्ट गरेको छ।
