हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

समाचार

हुम्ला, २९ साउन । हुम्लामा चीनबाट अवैध रूपमा नेपाल भित्र्याइएको प्रतिबन्धित चिनियाँ मदिरा प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ।

नाम्खा गाउँपालिका–२, नावलथाङस्थित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद मदिरामध्ये झिनिगिन्टी (रक्सी) ५९४ कार्टुनमा ७ हजार १२८ बोतल र चिनियाँ बोर्ड भाइजर (बियर) १९४ कार्टुनमा ४ हजार ६५६ बोतल रहेका छन्।

बरामद गरिएको प्रतिबन्धित चिनियाँ मदिराको कुल बजार मूल्य रु. ५१ लाख ९३ हजार ६ सय रहेको प्रहरीले जनाएको छ।

चीनसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा राखिएको अवस्थामा उक्त मदिरा फेला परेको हो। प्रहरीले बरामद मदिराबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवराज ढकालले शुक्रबार पत्रकार सम्मेलनमार्फत बरामद मदिरा सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएका हुन्।

सीमावर्ती क्षेत्रमा अवैध रूपमा हुने मदिरा तथा अन्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले संयुक्त रूपमा निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *