अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसमा दीप प्रज्वलन, दिवंगतप्रति श्रद्धाञ्जली

समाचार

काठमाडौं ,२३ भदौ ।अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा नक्सालको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भोटेकोशी बाढी आएको १३औँ दिन तथा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र कर्तव्यपालनाका क्रममा दिवंगत भएका नेपाल प्रहरीलगायत सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष तथा यसको महत्त्वलाई उजागर गर्ने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो। वृत्तचित्रमा विभिन्न देशका प्रहरीबीच हुने सहकार्य, सूचना आदान–प्रदान तथा समन्वयले अन्तरदेशीय अपराध अनुसन्धान र नियन्त्रणमा पुर्‍याउने योगदानलाई प्रस्तुत गरिएको छ।

हरेक वर्ष ७ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (International Day of Police Cooperation) मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो। विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान–प्रदान र समन्वयलाई थप सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा विश्व शान्ति र सुरक्षामा योगदान पुर्‍याउनु दिवसको मुख्य उद्देश्य रहेको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मी तथा आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *