भक्तपुर ,२५ भदौ । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट दुई जना व्यवसायी पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३, ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल ब्रम्हनगरमा बस्दै आएका शाहले सञ्चालन गरेको किराना पसलबाट खाना पकाउने एलपी ग्यास उपभोक्तालाई प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँ का दरले बिक्री गर्दै आएको सूचना प्रहरीसमक्ष पुगेको थियो।
उक्त सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय, टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसपछि पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको हो।
त्यसैगरी, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२, इटाछेबाट पनि एलपी ग्यासको कालोबजारी गरेको आरोपमा अर्का व्यवसायी पक्राउ परेका छन्। प्रहरीले उक्त स्थानबाट १४ वटा सगर ग्यासका सिलिण्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई नियन्त्रणमा लिएको हो।
दुवै घटनामा गरी प्रहरीले ८९ थान भरिएका एलपी ग्यास सिलिण्डर बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ। उनीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको वा कालोबजारीसम्बन्धी अन्य गतिविधिमा संलग्नता रहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
