एसपी सिलवालको ‘शून्य सहनशीलता’ नीति : बारामा ४ लाख बढीको भन्सार छलीका कपडा बरामद

समाचार

बारा ,१६ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिशाल सिलवालले तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाएसँगै सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई थप कडाइ गरिएको छ। यही क्रममा सशस्त्र प्रहरीले बारामा ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु. ४ लाख ८ हजार ३ सय २० बराबरका कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार २०८३ असोज १६ गते बिहान करिब ७:२० बजे बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५, इटियाही क्षेत्रमा बीओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले उक्त कपडा बरामद गरेको हो।

गस्ती टोलीलाई देखेपछि भारतबाट भन्सार छली गरी कपडा नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरूले सामान छाडेर भागेको बताइएको छ। त्यसपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको रु. ४,०८,३२० मूल्य बराबरको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी बिशाल सिलवालले बाराको सीमा क्षेत्रमा हुने तस्करी, चोरी–पैठारी, राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमा निगरानी, मोबाइल गस्ती र चेकजाँचलाई प्रभावकारी बनाउँदै आएका छन्। पछिल्लो बरामदगीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण अभियानलाई थप तीव्र बनाएको देखाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *