बिरगंज -१६ ईनर्वाबाट फरार २ प्रतिवादी पक्राउ, १९ वर्ष कैद र १ लाख ९० हजार जरिवाना

समाचार

वीरगञ्ज ,१६ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको निर्देशनमा फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ। सोही अभियानअन्तर्गत विशेष सूचनाको आधारमा ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने अन्दाजी २९ वर्षीय विर नारायण चौरसिया र सोही स्थानका अन्दाजी २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।

उनीहरू दुवै जनालाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अदालतबाट १९ वर्ष कैद तथा कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ। अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार २०८३ साल असोज १५ गते दिउँसो करिब ४ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा क्षेत्रबाट दुवै जनालाई पक्राउ गरिएको हो।

उनीहरूलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। प्राप्त विशेष सूचनाका आधारमा परिचालित टोलीले इनर्वा क्षेत्रमा खोजतलास तथा निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अदालतबाट फैसला भइसकेका फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा बुझाउने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको छ।

पर्सा प्रहरीले पछिल्लो समय अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउलाई प्राथमिकतामा राख्दै आएको छ। प्रहरीका अनुसार फरार प्रतिवादीको खोजीका लागि सूचना संकलन, निगरानी तथा विभिन्न प्रहरी इकाइमार्फत खोजतलासलाई प्रभावकारी बनाइएको छ।

प्रहरीले अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका तर फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

पक्राउ परेका विर नारायण चौरसिया र राज नारायण चौरसियालाई अदालतमा बुझाएसँगै उनीहरूमाथि तोकिएको कैद तथा जरिवाना कार्यान्वयनको कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको र अदालतबाट सजाय तोकिएका फरार व्यक्तिहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *