वीरगञ्ज,१८ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ असोज १८ गते जिल्ला प्रहरी कार्यालय, पर्सास्थित नागरिक सहायता कक्षमा वीरगञ्जस्थित Law School Birgunj (BSL) मा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लको उपस्थितिमा अपराध अनुसन्धान, कानून कार्यान्वयन, प्रहरी सेवा, नागरिकका अधिकार तथा कर्तव्य र प्रहरी–नागरिक सहकार्य लगायतका विषयमा छलफल गरिएको थियो।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले प्रहरीको अनुसन्धान प्रक्रिया, कानून कार्यान्वयनका क्रममा प्रहरीले निर्वाह गर्ने भूमिका तथा नागरिकले प्रहरी सेवाबाट प्राप्त गर्न सक्ने सहयोगबारे जानकारी लिएका थिए। प्रहरी अधिकारीहरूले अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिकको सहयोग र सूचनाको महत्वपूर्ण भूमिका रहने विषयमा समेत प्रकाश पारेका थिए।
कार्यक्रममा BSL का शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
प्रहरी र नागरिकबीचको विश्वास, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै कानूनको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित समाज निर्माणमा यस्ता अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
