रुपन्देहीमा बालिका अपहरण प्रकरणः आरोपी पक्राउ गर्न खोज्दा प्रहरीको गोली प्रहार

समाचार

रुपन्देही ,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्। बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी घाइते बनाएको छ।

जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी बालिकालाई प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट सकुशल फेला पारेको जनाएको छ।

बालिका सकुशल फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको थियो। सोही क्रममा बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

असोज १८ गते राति तिलोत्तमा नगरपालिका–१७ दरखसवास्थित धानबारीमा थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि प्रतिरोध गरेपछि प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरेको जनाइएको छ।

गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।

बालिका अपहरणको घटनालगायत सम्पूर्ण विषयमा इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप तथ्य, अपहरणको उद्देश्य तथा आरोपीको संलग्नताबारे अनुसन्धान अघि बढाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *