जितिया पर्वमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

समाचार

बारा,१८ असोज  । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बारा देवताल गाउँपालिकामा दुई बालिकाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असोज १७ गते साँझ करिब ५ः३५ बजे देवताल गाउँपालिका–६ जबका स्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा महिला तथा बालबालिकाहरू जितिया पर्वका अवसरमा नुहाइरहेका बेला दुई बालिका बेपत्ता भएको खबर प्राप्त भएको थियो।

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरीको अस्थायी प्रहरी पोस्ट बेनैली बाराबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कुमार कुर्मीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार गर्ने क्रममा साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनाराबाट करिब २० फिट दक्षिण पानीमा दुवै बालिका डुबेर मृत अवस्थामा फेला परेका थिए।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाही बस्ने भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही स्थानका राजेश पटेलकी १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।

घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खटिवडाको कमाण्डमा SOCO सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

दुवै बालिकाका बुबाहरू घटनास्थलमै रहेको तथा घटनास्थल अस्थायी प्रहरी पोस्ट बेनैलीबाट करिब २.५ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।

जितिया पर्वका बेला पोखरी, नदी तथा जलाशयमा नुहाउने क्रममा विशेषगरी बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्ने देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *