पर्सामा एसपी क्षेत्रीको तस्करी नियन्त्रण अभियान तीव्र, १३ लाख बराबरका अवैध सामानसहित ट्रयाक्टर बरामद

समाचार

वीरगञ्ज,१७ असोज  । सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाउँदै भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान तथा अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। अभियानअन्तर्गत पछिल्ला दुई दिनमा पर्साका विभिन्न सीमा क्षेत्रबाट लाखौँ रुपैयाँ बराबरका कपडा, इलेक्ट्रोनिक सामान, औषधी तथा अन्य सामग्री बरामद गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार २०८३ असोज १६ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वा बलिरामपुरस्थित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको रु. २ लाख ५१ हजार ८२० बराबरको कपडा तथा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

सोही दिन सीमा सुरक्षा गुल्म वीरगञ्जकै टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा भारतबाट भन्सार छली ल्याइएको रु. १ लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी तथा टाँगा र घोडासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१ बोरिङस्थित सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याई झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा रु. १ लाख ७३ हजार ७१० बराबरको कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ। बरामद सामग्री पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, २०८३ असोज १७ गते पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीबाट खटिएको टोलीले भारतबाट भन्सार छली चार जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको रु. ३ लाख बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।

सोही दिन वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सीमा सुरक्षा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली दुई जना व्यक्तिले नेपालतर्फ ल्याउँदै गरेको रु. ६० हजार बराबरको एसी नियन्त्रणमा लिएको छ। उक्त एसी पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट भन्सार छली दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको रु. ४ लाख २७ हजार ३८० बराबरको मानिसले प्रयोग गर्ने विभिन्न औषधी बरामद गरेको छ। बरामद औषधी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणसँगै नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध पनि कारबाही अघि बढाएको छ। २०८३ असोज १६ गते वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेस बेलवाबाट खटिएको टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गरिरहेको अवस्थामा ना.५ त ४८४० नम्बरको सोनालिका ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कार्यालय, वीरगञ्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली, चोरी–पैठारी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी टोलीले नियमित रूपमा निगरानी तथा गस्ती गर्दै आएको छ।

सशस्त्र प्रहरीको पछिल्लो कारबाहीले पर्साका विभिन्न सीमा नाका तथा संवेदनशील क्षेत्रमा भन्सार छली हुने गतिविधिमाथि निगरानी बढाइएको देखाएको छ। विशेषगरी इनर्वा, भन्सार मेनगेट, सिर्सिया, खल्वा, सबैठवा लगायतका क्षेत्रमा टोली परिचालन गरी अवैध रूपमा नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीले बरामद गरिएका अधिकांश सामान सम्बन्धित निकायलाई बुझाएर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सीमा क्षेत्रमा हुने तस्करी तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *