बारा ,२५ असोज । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ असोज २४ गते साँझ करिब ६ः४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR05AF 0140 को मोटरसाइकलले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकलमा सवार दम्पतीसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।
दुर्घटनामा साइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ४० वर्षीय सबु मोहम्दको टाउको र निधारमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको अवस्थामा थप उपचारका लागि राति ९ः१० बजे नारायणी न्युरो अस्पताल, वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, साइकलमा सवार उनकी श्रीमती करिब ३७ वर्षीया रिजवना खातुनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएकोमा साँझ ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका करिब २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार सोही स्थानका करिब २२ वर्षीय विवेक महतो गम्भीर घाइते भएका छन्। दुवै जनाको टाउको, नाक र कानमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि साँझ ७ः५० बजे थप उपचारका लागि नारायणी न्युरो अस्पताल, वीरगञ्ज रेफर गरिएको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शैलेन्द्र प्रसाद यादवको कमान्डमा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
