विराटनगर ,२५ असोज । मोरङमा सशस्त्र प्रहरीले २६ किलो ७५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजाजस्तो पदार्थसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकलमा सवार दुई जना व्यक्ति मोटरसाइकल र गाँजा छाडेर फरार भएका छन्।
२०८३ असोज २४ गते बिहान ३:३५ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी जहदा भुटाहा, मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको २१ जनाको सीमा पैदल गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।
गस्ती टोलीले मोरङको विराटनगर महानगरपालिका–१८, बुधनगरस्थित धुनि टोलको सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 38 AP 3375 को यमाहा कम्पनीको MT-15 मोटरसाइकललाई शंका लागेर जाँच गर्न खोजेको थियो।
सो क्रममा मोटरसाइकलमा सवार दुई जनाले दुईवटा कालो झोलामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको २६ किलो ७५० ग्राम गाँजाजस्तो देखिने प्रतिबन्धित लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीले जाँच गर्न खोजेपछि दुवै जना व्यक्ति मोटरसाइकल र झोलामा रहेको गाँजा छाडेर फरार भएका थिए। त्यसपछि गस्ती टोलीले गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिई बरामद गरेको हो।
बरामद गरिएको गाँजाजस्तो देखिने पदार्थ र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सोही दिन बिहान १०:३० बजे इलाका प्रहरी कार्यालय रानी, विराटनगर, मोरङमा बुझाइएको छ।
सीमा क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले गरेको यस कारबाहीले सीमापार लागूऔषध तस्करी नियन्त्रणमा सुरक्षा निगरानीको महत्त्वलाई थप उजागर गरेको छ। फरार व्यक्तिहरूको पहिचान तथा खोजी र घटनासम्बन्धी थप अनुसन्धान भने प्रहरीको कारबाही प्रक्रियाबाट अघि बढ्नेछ।
