पर्सा, असोज २५ । ७१औँ प्रहरी दिवसको अवसर पारेर दशैँ पर्वलाई लक्षित गर्दै पर्साको प्रसिद्ध धार्मिकस्थल बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र एलाइड युथ सोसाइटीको संयुक्त आयोजनामा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
दशैँ पर्वका अवसरमा बिन्दवासिनी मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने श्रद्धालु भक्तजनको चाप बढ्ने भएकाले धार्मिकस्थललाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले धार्मिक तथा सार्वजनिक स्थलको सरसफाइमा नागरिकको सहभागिता बढाउनुका साथै स्वच्छ वातावरण निर्माण र सामाजिक उत्तरदायित्वप्रतिको सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको यस कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै चाडपर्वलाई स्वच्छ, सभ्य र व्यवस्थित रूपमा मनाउन सकारात्मक सन्देश दिएको छ।
