वीरगंज, मंसिर १ । जेन–जी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फरार कैदीलाई वीरगंज महानगरपालिका–४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर निवासी २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) लाई २०८३ साल कार्तिक ३० गते बिहान करिब ९ः३० बजे पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई सम्मानित सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा तथा बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
उनी २०८२ साल भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका थिए। आन्दोलनका क्रममा सुधार गृहबाट फरार भएपछि प्रहरीले उनको खोजी कार्यलाई निरन्तरता दिँदै आएको थियो।
विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले खोजतलास तथा निगरानीका क्रममा उनलाई वीरगंजको मालपोत चोकबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
लामो समयदेखि फरार रहेका सजाय तोकिएका कैदीलाई पक्राउ गर्न सफल हुनुले फरार अभियुक्त तथा कैदीहरूको खोजी अभियानमा प्रहरीको सक्रियता थप प्रभावकारी बनेको देखिएको छ।
