वीरगञ्ज, मंसिर १, । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवस–२०८३ को अवसरमा पर्सामा यौनजन्य हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमसहित र्याली आयोजना गरिएको छ।
यौनजन्य हिंसाविरुद्ध समाजमा जागरुकता फैलाउने, पीडितलाई न्यायको पहुँचमा पुर्याउने तथा हिंसामुक्त र सुरक्षित समाज निर्माणका लागि सामूहिक जिम्मेवारीबोध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पर्साका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
र्यालीमा सहभागीहरूले यौनजन्य हिंसा अन्त्य गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको सन्देश प्रवाह गर्दै समाजमा विद्यमान हिंसा, दुर्व्यवहार तथा शोषणविरुद्ध आवाज उठाउन सर्वसाधारणलाई आह्वान गरेका थिए।
कार्यक्रममार्फत महिला, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि हुने यौनजन्य हिंसाका घटना रोकथाम गर्न परिवार, समुदाय र राज्यका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइएको थियो।
त्यसैगरी, यौनजन्य हिंसाका घटना लुकाएर राख्ने प्रवृत्तिको अन्त्य गर्दै पीडितलाई निर्धक्क भएर प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्न प्रोत्साहित गर्ने, पीडितको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिने तथा दोषीलाई कानुनी दायरामा ल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र नागरिक सचेतनासँग जोड्दै पर्सामा आयोजना गरिएको यस कार्यक्रमले यौनजन्य हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता अभिवृद्धि गर्नुका साथै सुरक्षित, सभ्य र हिंसामुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यौनजन्य हिंसाविरुद्ध मौनता होइन, आवाज उठाऔँ। पीडितलाई साथ दिऔँ, हिंसामुक्त समाज निर्माण गरौँ।
