काठमाडौँ ,७ जेठ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् ।
बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताएका छन् ।
उनले भने-
फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।
बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन:
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।
उनले भनेका छन्-
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !
