काठमाडौँ,२२ जेठ । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।
महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।
यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।
टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।
त्यस्तै ,बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले राष्ट्रिय क्रीकेट टिमका खेलाडी आसिफ शेखलाई हौसला वृद्धि गर्न प्रदर्शन अनुसार पुरस्कार राशी दिने घोषणा गरेका छन् ।आसिफ शेख बिरगंजका स्थानीय खेलाडी हुन।
मेयर सिंहले समाजिक संजालमा लेखेका छन् “अमेरिकामा जारी विश्वकप टी-२० क्रिकेट प्रतियोगितामा सहभागी वीरगंजको छोरा आसिफ शेखको सम्मान र हौंसला वृद्धिका लागि वीरगंज महानगरपालिकाको तर्फबाट प्रत्येक प्रतियोगितामा ३० रन जोड्दा रू.३० हजार, ५० रन जोड्दा रू. ५१ हजार र १०० रन जोड्दा रू. १ लाख प्रदान गर्ने घोषणा गर्दछु ।”

मेयरले गरेका यस निर्णयलाई बिरगंज महानगरका स्थानीयहरुले प्रशन्सा गरेका छन् ।स्थानीय खेलाडीलाई यो निर्णयले झन उर्जावान बनाउने प्रतिक्रिया दिएका छन् ।
