रसीद आलम ,बारा,१५ असार।
बारा प्रहरीले २०१ किलो लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा असार १४ गते राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाइ छिपाइ राखिएको अवस्थामा १६ पोकामा २०१ किलो लागू औषध गाँजा बरामद गरेको छ ।लागूऔषध ओसारपसारमा प्रयोग भएको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको योद्धा पिकअप गाडी र दुई जना ब्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ पर्नेहरूमा पिकअप चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २२ को सुजन अधिकारी र सह-चालक धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २३ को रमेश नेपाली रहेको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान भैरहेको तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ।
