रसीद आलम ,पर्सा, ५ कार्तिक ।
सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न किसिमका सामानहरू बरामद गरेको छ।
बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थित विभिन्न सीमानाकाबाट अवैध रूपमा सार्वजनिक सवारी साधनमार्फत नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, कपडा, कस्मेटिक, मोटर पार्ट्स, मोबाइल एसेसोरीज, इलेक्ट्रोनिक्स र मेडिकलका सामग्रीहरू बरामद गरिएको हो। यी सामानहरूको कुल मूल्य रु. १४ लाख ६० हजार ४ सय ४५ रहेको छ, जसलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरि घिमिरेले जानकारी दिए।
त्यसैगरी, कार्तिक ४ मा बी.ओ.पी. ड्राईपोर्टबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका-२५ चण्डाल चोकबाट भन्सार छलि ल्याइँदै गरेको रु. १ लाख ६९ हजार ६ सय बराबरको जुत्ता, कपडा र किराना सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
यसअघि, कार्तिक ३ गते प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिरगंज महानगरपालिका-१९ बर्वा स्थित रु. २ लाख २८ हजार ९० बराबरको किराना सामान, इलेक्ट्रोनिक्स सामान, मोटर पार्ट्स, कपडा र खेलौनाका सामग्री बरामद गरी मिति २०७८ कार्तिक ४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थियो।
सशस्त्र प्रहरीले अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै आएको जानकारी दिएको छ।
