१ करोड ५१ लाख भन्दा बढीको बिलबिना समान राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो

समाचार

बारा,५ मंसिर ।

बारा प्रहरीले पथलैया बारास्थित राजस्व अनुसन्धान कार्यालयमा १ करोड ५१ लाख ६ हजार ९ सय ४९ रुपैयाँ बराबरको बिलबिना र स्रोत खुलाउन नसकिएका विभिन्न सामान बुझाइएको छ।

पथलैया प्रहरी कार्यालय र मातहतका इकाइहरूद्वारा मिति २०८१ मंसिर १ देखि ४ सम्म विभिन्न स्थानमा चेकजाँच गर्दा बिलबिना र भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएका हुन्।

प्रहरीले वीरगंजदेखि काठमाडौं, हेटौंडा, सुर्खेततर्फ जाँदै गरेका सवारीसाधनहरूबाट सामान जफत गरेका थिए। जफत गरिएका सामानहरूमा चिनी, मटर, प्याज, अचार, मिठाइ, खुर्सानी, मरिच पाउडर, मसलाजन्य सामग्री, काजु, र अन्य खुद्रा सामग्रीहरू रहेका छन्।

सबैभन्दा ठूलो परिमाणमा पथलैया चोकमा रोकी जफत गरिएको एक ट्रकमा ६१ लाख ३ हजार ४५० रुपैयाँ बराबरका खुद्रा सामग्री फेला परेका थिए।

यसैगरी, अमलेखगञ्ज, बारागढी, र बरियारपुर क्षेत्रमा पनि सवारी चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामग्रीहरू बरामद गरिएका थिए। नियन्त्रणमा लिइएका सामग्रीहरू कानूनी कारबाहीका लागि पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *