बिरगंज ,५ मंसिर ।
पर्सा जिल्लाको सशस्त्र प्रहरी बल मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजले तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको दोस्रो पारीको नेतृत्वमा दुई महिनामा मात्र ३ करोड १७ लाख ८५ हजार ४ सय ६९ रुपैयाँ बराबरका भन्सार छलिका मालसामान बरामद गरिएको छ।
असोज महिनामा १ करोड ६४ लाख ६३ हजार ६ सय ३४ रुपैयाँ बराबरका कपडा, किराना, हार्डवेयरलगायतका सामान बरामद गरियो भने कात्तिक महिनामा १ करोड ५३ लाख २१ हजार ८ सय ३५ रुपैयाँ बराबरका यस्ता सामान नियन्त्रणमा लिइएका छन्। सबै बरामद मालसामानलाई भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
डिएसपी सुरज रिजालले २०८० चैत ७ गते गुल्म प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए। पहिलो पारीको ६ महिनाको अवधिमा उनले १८ करोड रुपैयाँभन्दा बढीका भन्सार छलिका मालसामान बरामद गरेका थिए। हाल दोस्रो पारीको तेस्रो महिनामा समेत उनले तस्करी नियन्त्रणमा निरन्तर सफलता हासिल गरिरहेका छन्।
सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय, बर्दिबासले बिरगंज गुल्मलाई तस्करी नियन्त्रण र भन्सार दाखिलाको क्षेत्रमा नेपालकै उत्कृष्ट मानिएको जनाएको छ।
