बिरगंज ,९ मंसिर ।
पर्सा जिल्लाको बि.म.न.पा-१६ स्थित भन्सार मेनगेट र अन्य स्थानबाट सशस्त्र प्रहरीको विशेष टोलीले ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ।
किराना सामान, मोटर पार्ट्स र औषधि बरामद:
मिति २०८१ मंसिर ९ गते, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल भन्सार छल्दै ल्याइँदै गरेको २० लाख ३८ हजार ६२१ रुपैयाँ बराबरको किराना सामान, मोटर पार्ट्स, मोबाइल एसेसरीज, कपडा, कफी दाना र विभिन्न प्रकारका औषधि नियन्त्रणमा लियो। उक्त सामान ई-रिक्सामा ल्याइँदै गर्दा जिम्मेवार व्यक्ति भागेका थिए। बरामद सामान बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
Advrts

मदिरा र मोटरसाइकल बरामद:
उक्त दिन अपराह्न ४:४० बजे, सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा रहेको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको १ लाख ४२ हजार ५० रुपैयाँ बराबरको मदिरा र मोटरसाइकल नियन्त्रणमा लियो।
सुपारीको ठूलो परिमाण बरामद:
त्यसैगरी, विशेष सूचनाको आधारमा सुरज रिजालको कमाण्डमा खटिएको संयुक्त टोलीले बिरगंजको रेल्वे रोडस्थित गोदामबाट १३ लाख ५८ हजार ७०० रुपैयाँ बराबरको ३८८२ किलोग्राम सुपारी बरामद गर्यो।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
