पर्सा ,१४ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा २०८१ मंसिर १३ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकमा औषधिजन्य सामग्री बोकेको ना.३ ख ७९१९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।
उक्त ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा बिल बिजकमा उल्लेखित सामानभन्दा बढी मात्रामा औषधिजन्य सामग्री रहेको पाइएको थियो। उक्त सामग्रीको प्रारम्भिक मूल्याङ्कन अनुसार अन्दाजी रू. ९० लाख ३७ हजार ६ सय १० बराबरको रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले ट्रकमा लोड गरिएको औषधि अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
