पर्सा ,१९ पुस । प्रेस सेन्टर नेपाल (जिल्ला समन्वय समिति) पर्साको १८औं साधारण सभा तथा छैटौं अधिवेशन शुक्रबार वीरगंजमा सम्पन्न भएको छ।
सेन्टरका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। उनले पर्साका सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको पालन गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका पर्सा इन्चार्ज विजय महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, तथा पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सेन्टरका सचिव शिवनाथ यादवले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पर्सा इन्चार्ज निरज पिठाकोटे मगरले व्यक्त गरेका थिए। सो अवसरमा पर्सा जिल्लाबाट नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, र जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि देवकोटाले गम्छा ओढाएर सम्मान गरेका थिए।
अधिवेशनको बन्दसत्रले शिवनाथ यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष कृष्णमोहन साह, महिला उपाध्यक्ष समिना रञ्जितकार, सचिव अजित कुमार भूजेल, सहसचिवद्वय विदुर गौतम र रञ्जित यादव, तथा कोषाध्यक्ष सञ्जित गुप्ता चयन भएका छन्।
