वीरगञ्ज, माघ १८ ।सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा चेकजाँच गर्ने क्रममा अवैध रकमसहित एक युवकलाई पक्राउ गरेको छ।
ना ३१ प २७५६ नम्बरको Splendor iSmart मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका जिल्ला बारा, प्रसौनी गाउँपालिका-३ निवासी २२ वर्षीय नितेश गुप्तालाई जाँच गर्दा शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा भारतीय रुपैयाँ प्रतिबन्धित ५ सयका नोट २०० थान गरि १ लाख र नेपाली रुपैयाँ २,७१५ फेला परेको थियो।
सशस्त्र प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई कुल नेपाली रुपैयाँ १,६२,७१५, रु. १,५०,००० मूल्य बराबरको मोटरसाइकल, र रु. २१,००० मूल्यको मोबाइल फोनसहित जम्मा रु. ३,३३,७१५ बराबरको सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा अवैध कारोबार रोक्न कडाइ गर्दै आएको छ भने यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको बताइएको छ।
