भारत ,बिहार,२० माघ ।
बिहारको मुजफ्फरपुरमा भएको गम्भीर सवारी दुर्घटनामा पाँच नेपाली श्रद्धालुको मृत्यु भएको छ। महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–२, मनराकट्टीका ५० वर्षीय मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षीय इन्दु देवी झा, ३० वर्षीय अर्चना झा तथा गाडी चालकको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ। चालकको पहिचान खुल्न बाँकी रहेको छ।
दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन्। स्थानीयहरूको सहयोगमा प्रहरी टोलीले घाइतेहरूलाई श्रीकृष्ण मेमोरियल मेडिकल कलेज (एसकेएमसीएच) पुरयाएको छ। घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्, जसको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ।
घटनापछि स्थानीय प्रहरी प्रशासनले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। दुर्घटनाग्रस्त गाडीलाई सडकबाट हटाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउने क्रममा सवारी साधनको नियन्त्रण गुम्दै पाँच पटक पल्टिएर दुर्घटना भएको बताइएको छ।
