सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुब्बाको प्रतिबद्धता: मानव बेचविखन, लागूऔषध तथा अवैध आवतजावत नियन्त्रणमा सक्रिय भूमिका

बिदेश राजनीति समाचार

वीरगञ्ज, २९ माघ।

पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण, तेस्रो मुलुकबाट अवैध आवतजावत तथा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाले प्रतिबद्धता जनाएका छन्।

सीमा सुरक्षा गुल्म वीरगञ्जद्वारा आयोजित “पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण तथा तेस्रो मुलुकबाट हुने अवैध आवतजावत नियन्त्रण” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डिएसपी सुब्बाले खुला सिमानाका कारण हुने अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले कडाइ गरेको बताए। उनले मानव बेचविखन तथा लागूऔषध कारोबार रोकथाममा समेत सशक्त कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
डिएसपी सुब्बाको नेतृत्वमा पुस ५ देखि माघ २९ (५० दिन) सम्ममा मात्रै १ करोड ८६ लाख ७९ हजार ९८४ रुपैयाँ बराबरको तस्करीको विभिन्न मालसामान बरामद गरिएको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १० किलो ९६४ ग्राम गाँजा, बुप्रेनोफ्रिन ४९९ ट्याबलेट, डाइजिपाम ४९० ट्याबलेट, नोफिन २९७ ट्याबलेट, अनरेक्स १ डिब्बा तथा प्रोमेफाजिन ४९७ पिस बरामद गरिएको छ।

उक्त अन्तरक्रिया कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय पथलैया, वीरगञ्ज भन्सार कार्यालय, विभिन्न बिओपी तथा सशस्त्र प्रहरीका पदाधिकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तरक्रियाका सहभागीहरूले धार्मिक पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न समन्वय आवश्यक रहेको बताए। साथै, मानव बेचविखन तथा लागूऔषध नियन्त्रणका लागि सीमा सुरक्षामा थप निगरानी बढाउनु पर्नेमा सबै पक्ष एकमत देखिए। सहभागीहरूले सूचना आदानप्रदान, सुरक्षामा सतर्कता तथा सामूहिक अभियान सञ्चालन गरी तस्करी नियन्त्रण गर्न आवश्यक रहेको सुझाव दिए।

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्य आवश्यक रहेको निष्कर्षसहित अन्तरक्रिया सम्पन्न भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *