वीरगञ्ज ,२ फागुन ।
वीरगञ्जमा भारी मात्रामा अवैध औषधि बरामद भएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालय वीरगञ्जको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–५, गणेशमान चोक नजिक कुमाल टोलस्थित सहवाज अहमदको घरमा छापा मारेको छ। घरको किचन, बेडरुम तथा प्यासेजमा भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका औषधिहरू लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोली तथा भन्सार कार्यालयबाट नायब सुब्बा सुवर्ण पौडेलको संलग्नतामा गरिएको छापामारीमा कुल मूल्य रु. १७ लाख ३१ हजार ४०२ बराबरका विभिन्न औषधिहरू बरामद गरिएका छन्।
बरामद गरिएका औषधिहरू निम्नानुसार छन्:
१. EROWASH – १२२१ थान
२. PREGNARON – ११५ पत्ता
३. FOLIZIN SOFT GEL CAPSULES – ९२७ पत्ता
४.LCIUM D TABLETS– १६२० डिब्बा
५. PROGHISE– ८७० पत्ता
६. FOLIZIN– २१० पत्ता
बरामद गरिएका सम्पूर्ण औषधिहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
अवैध औषधि तस्करी रोकथामका लागि सुरक्षा निकायहरू निरन्तर सतर्क रहेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले बताएका छन् ।
