पर्सा, १९ फागुन।
विशेष सूचनाका आधारमा पर्सा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
फागुन १५ गते दिउँसो करिब ४:२० बजे वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ हटियाका २१ वर्षीय मिनबहादुर अधिकारीलाई पक्राउ गरेको हो।
अधिकारीलाई चेकजाँच गर्दा उनको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीमा सेतो प्लास्टिकले बेरिएको ४ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको थियो। अधिकारीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
