बारा, फाल्गुन २१ ।
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा २ किलो ४१ ग्राम अफिम जस्तो देखिने लागू औषधसहित दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार फाल्गुन २१ गते दिउँसो करिब ३:०० बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बा.प्र. ०३-००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा सिटमुनी लुकाइ राखिएको अवस्थामा २ किलो ४१ ग्राम लागू औषध (४ प्याकेट) फेला परेको थियो।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक मकवानपुर, राक्सिराङ गाउँपालिका–१ का २७ वर्षीय सुनिल मोक्तान र पछाडि सवार भीमफेदी गाउँपालिका–३ का २० वर्षीय हर्क रुम्बा रहेका छन्।
प्रहरीले बरामद लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
