बिरगंज, २३ चैत ।
पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा रहेको १९९३ (वि.सं. २०५०) मा स्थापित बिरगंज तेक्वान्दो डोजाङ हाल विवादमा परेको छ। नेपाल तेक्वान्दो संघ, काठमाडौंमा डोजाङ दर्ता गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका प्रशिक्षक महमद सकिलले पर्सा जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख तथा तेक्वान्दो गुरु नाजिर हुसेनले प्रशिक्षणमा हस्तक्षेप गरेको आरोप लगाएका छन्।
सकिलका अनुसार, नाजिर हुसेनको कार्यक्षेत्र नारायणी रंगशालाको कभर्ड हल भए पनि उनी घडीअरवास्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा पुगेर प्रशिक्षण गराउन थालेपछि समस्या उत्पन्न भएको हो। अहिले सकिलका १२० भन्दा बढी खेलाडीहरू विभिन्न तहका प्रतियोगितामा सहभागी छन्।
यो विवादका कारण चैत १९ गते दुबै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो। प्रहरी प्रशासनले चैत २५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को पत्र ल्याई समाधान गर्न सुझाव दिएको थियो। तर, उक्त छलफलपछि नाजिर हुसेनले नारायणी रंगशालाको डोजो क्लब बन्द गरी घडीअरवा पुगेर प्रशिक्षण गर्न थालेपछि स्थिति झनै तनावग्रस्त बनेको प्रशिक्षक सकिलको भनाइ छ।
आजको घटनाका कारण धेरै खेलाडीहरू नियमित प्रशिक्षणबाट बञ्चित भएको प्रशिक्षक सकिलले बताएका छन्। खेलाडी वेश सेखका अनुसार, प्रशिक्षक सकिलले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडी उत्पादन गर्दै आएका छन्, र उनीमाथि यस्तो अवरोध हुनु दुर्भाग्यपूर्ण छ।
यसैबीच, कार्यालय प्रमुख नाजिर हुसेनले भने विवादको खण्डन गर्दै आफूहरूले कार्यालय सञ्चालनका लागि एउटा कोठा मात्र मागेको हो,हामिले खिलाडीलाई प्रशिक्षण दिने समय तालिका निरधार्न गरेका छौं तर उहाँहरुले नमानेर यो समस्या सृजना भएको प्रतिक्रिया दिएका छन्।

स्थानीय खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूले राष्ट्रिय खेलकुद परिषद्ले तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।
