बिरगंज ,१९ जेठ ।
पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–१ पिडरिगुठ्ठीमा आज मिति २०८२।०२।१९ गते दिउँसो करिब १४:४० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको छ। घटनामा स्थानीयवासी ४० वर्षीय मोजामिल राय भगत र उनका कान्छा भाइ ३५ वर्षीय हाफिज राय भगतको फुसको घरमा आगलागी हुँदा ठूलो धनमालको क्षति पुगेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ पिडरिगुठ्ठी प्रहरी चौकीबाट प्रहरी निरीक्षक (प्र.नि.) वीरेन्द्र प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटिइएको थियो। प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो करिब १५:१० बजेतिर पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीको भनाइ छ।
प्राथमिक अनुसन्धानका क्रममा आगलागीको कारण विद्युतिय तारमा भएको सर्ट सर्किट रहेको बताइएको छ। आगलागीका कारण घरमा रहेका अन्न धान, गहुँ, काठको पलंग, पंखा, लत्ता कपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अनुमानित एक लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
यस घटनामा मानवीय क्षति नभए पनि पीडित परिवारलाई ठूलो आर्थिक भार परेको स्थानीयहरूले जनाएका छन्। स्थानीय प्रहरी प्रशासनले आगलागी नियन्त्रणमा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
पर्सा जिल्ला प्रहरी कार्यालयले आगलागी नियन्त्रणका लागि स्थानीयवासीहरूलाई सतर्क रहन र विद्युतिय उपकरणहरूको प्रयोगमा विशेष ध्यान दिन अनुरोध गरेको छ।
