मधेश प्रदेशका आठ वटै जिल्लामा ‘Disaster Volunteer’ निर्माण गर्दै सशस्त्र प्रहरी: विपद व्यवस्थापनमा स्थानीय जनशक्ति उत्पादनको सुरुवात

समाचार

रसीद आलम

मधेश प्रदेश, जेष्ठ १९  ।सशस्त्र प्रहरी बल, नेपालले आगामी मनसुन तथा मनसुनसँगै हुने बाढी, डुबान, आगलागी लगायतका प्राकृतिक तथा मानवजन्य प्रकोपहरूसँग प्रभावकारी रूपमा सामना गर्नका लागि मधेश प्रदेशका आठवटै जिल्लामा ‘Disaster Volunteer’ (विपद् स्वयंसेवक) निर्माण गर्ने अभियान सुरु गरेको छ।

मधेश प्रदेशका वाहिनीपति (डिआईजी ) कृष्ण ढकालका अनुसार यस अभियानको उद्देश्य भनेको विपद् व्यवस्थापनमा पहिलो प्रत्युत्तरदाताको रूपमा स्थानीय समुदायलाई सक्षम बनाउने र सम्भावित धनजनको क्षति न्यूनतममा झार्ने हो। मधेश प्रदेश प्राकृतिक प्रकोपहरूको दृष्टिले अति जोखिमयुक्त क्षेत्र भएकाले यस अभियानलाई विशेष प्राथमिकतामा राखेर सञ्चालन गरिएको बताइएको छ।

डिआईजी  ढकालले जारी गरेको विशेष सर्कुलरअनुसार प्रत्येक जिल्लामा यसै वर्ष कम्तीमा २५ जना ‘Disaster Volunteer’ लाई २१ दिने विशेष तालिम दिइनेछ। हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना, र सप्तरीमा २५ जना गरी जम्मा १३९ जना स्वयंसेवकलाई तालिम दिइसकिएको छ।

यसैगरी बाँकी रहेका बारा, पर्सा र सिरहामा समेत चाँडै २५-२५ जना स्थानीय स्वयंसेवकलाई तालिम दिने प्रक्रिया अघि बढाइएको DIG ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विपद्को पहिलो प्रत्युत्तरदाताको रूपमा स्थानीय समुदायलाई तयार पार्दा मात्रै हामी न्यून क्षतिको आकांक्षा पुरा गर्न सक्छौं। हाम्रो अभियान भनेकै मानवीय क्षति हुनै नदिने हो। यो कार्य सुरक्षा फौज र समुदायको सहकार्यमा मात्रै सम्भव छ।”

त्यस्तै, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सबै जिल्लाका पालिकाहरूमा रहेका वडा कार्यालयहरूसँग समन्वय गरी कम्तीमा २५ जना ‘विपद् सूचक’ (Disaster Informant) समेत तयार पारिएको छ। सम्भावित प्रकोपहरूको घटनाबारे छिटो सूचना प्राप्त गर्न र प्रतिकार्यमा सहजता ल्याउनका लागि हालसम्म नै सबै जिल्लाका पालिकाहरूबाट ‘विपद् सूचक’हरूको विवरण, फोन नम्बरसहित संकलन गरिसकिएको छ।

यस कार्यक्रमका माध्यमबाट मनसुनजन्य बाढी, डुबान, चट्याङ, आगलागी लगायतका प्रकोपहरूबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणमा ठुलो सहयोग पुग्ने विश्वास DIG ढकालले व्यक्त गर्नुभयो।

सशस्त्र प्रहरी बलको यो पहलले मधेश प्रदेशका बासिन्दालाई विपद्को बेला सशक्त र आत्मनिर्भर बनाउँदै सुरक्षा निकाय र स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *