रौतहट, २५ चैत — विगतमा काठ चोरी तथा तस्करीका कारण बदनाम बनेको रौतहटको राष्ट्रिय वनक्षेत्र पछिल्ला दिनमा झनै संकटमा परेको छ। सरकारी स्वामित्वमा रहेको वन क्षेत्रभित्र तीव्र रुपमा खयर रुखको फडानी गरेर बस्ती बसाल्ने र खेत बनाउने गतिविधि बढेका छन्।
स्थानीय बासिन्दादेखि अन्य जिल्लाबाट सरेर आएका व्यक्तिहरूले सयौं बिगाहा क्षेत्रफलमा फैलिएको खयरघारी फाडेर व्यक्तिगत खेत बनाईसकेका छन्। यसैबीच, डिभिजन वन कार्यालय रौतहटले खयर फडानी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
वृन्दावन नगरपालिका–४ हरैया गाउँका बिल्टुराय यादवलाई वन फडानी गरेको आरोपमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए। वृन्दावन सब-डिभिजन वन कार्यालय बल्लरीको गस्ती टोलीले खयरघारी फडानी गरिरहेका बेला यादवलाई पक्राउ गरेको थियो।
प्रमुख साहका अनुसार, यादवले वृन्दावन–१ स्थित बागमती नदी आसपासको क्षेत्रफल—पूर्वमा बागमती नदी, पश्चिममा नदीको भंगालो, उत्तर र दक्षिणतर्फ खयरघारी रहेको—करीब ५ कठा क्षेत्रफलमा खयरघारी झाडी बुट्यान खुकुरीले फाडेर वनको जमिन अतिक्रमण गरेका हुन्। उनलाई अतिक्रमित जमिनको क्षेत्रफलको आधारमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
पछिल्लो समय बागमती नदी आसपासको बगर क्षेत्रमा अवैध रूपमा खयर रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको छ। डिभिजन वन कार्यालयको उदासिनताका कारण काभ्रे, मकवानपुर, सिन्धुलीलगायत जिल्लाबाट आएका मानिसहरूले हजारौं हेक्टर बगर क्षेत्रलाई व्यक्तिगत खेतमा परिणत गरिसकेका छन्।
स्थानीयका अनुसार, सुरुमा खयर र अन्य रुखबाट झरेका झारपातमा आगो लगाइन्छ, त्यसपछि रुख फाडेर खेतीयोग्य जमिन तयार गरिन्छ। यस्तो गतिविधिले वातावरणीय सन्तुलनमा गम्भीर असर पारेको जनचेतना विज्ञहरूले चेतावनी दिएका छन्।
