वीरगञ्ज,१ असोज । पर्सा प्रहरीले भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ भदौ ३१ गते करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याइएका तथा अनधिकृत रूपमा सञ्चालन भइरहेका भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका १० वटा इलेक्ट्रिक स्कुटरको अनुमानित मूल्य ८ लाख रुपैयाँ रहेको जनाएको छ।
भन्सार छली गरी नेपाल भित्र्याइएका सवारीसाधन नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइएको छ।
