भन्सार प्रमुख लामिछानेका प्रभावकारी कदम: लिलामी प्रक्रियामा तीव्रता, भन्सार व्यवस्थापन सुधार र निर्यातमा वृद्धि

बिदेश राजनीति समाचार

रसीद आलम,बिरगंज ,२७ मंसिर ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले कार्यभार सम्हालेको दुई महिनामै भन्सार व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ। लामो समयदेखि मुद्दा फर्छ्यौट भई थन्किएका जर्जर मालसामान र सवारी साधनहरूको लिलामी प्रक्रियालाई तीव्रता दिइएको छ।

भन्सार कार्यालयका अनुसार, २०८१ साल मंसिर १० गते करिब ६२ लाख ४० हजार ५ सय रुपैयाँ बराबरका विभिन्न सवारी साधनहरू लिलामी प्रक्रियामा छन्। यसअघि २०८१ साल कात्तिक २७ गते ४४ लाख ४ हजार ३ सय ९७ रुपैयाँ बराबरका विभिन्न मालसामान लिलाम भइसकेका छन्।

लिलामी प्रक्रियामा मोटरसाइकल, कार, पिकअप, ट्र्याक्टर, र ट्रकजस्ता सवारी साधनका साथै ३ लाख ७१ हजार रुपैयाँ बराबरका ७१ थान कबाडी मोटरसाइकल र २७ लाख रुपैयाँ बराबरका ३८ थान अन्य सवारी साधन लिलाम प्रक्रिया रहेका छन्। समयमा लिलामी प्रक्रिया पूरा गरिएको भए यी वस्तुहरू राम्रो अवस्थामा सरकारको राजस्व वृद्धि गर्न योगदान गर्न सक्थे।

प्रमुख लामिछानेले भन्सार क्षेत्रमा बिचौलिया र अनाधिकृत दलालहरूको प्रभावलाई न्यून गर्दै भन्सार व्यवस्थापनलाई अनुशासित बनाएका छन्। उनका प्रभावकारी कदमका कारण निर्यातमा पनि वृद्धि भएको छ।

उनका अनुसार, वीरगञ्ज भन्सार क्षेत्रबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, र ऊनी गलैँचाजस्ता उत्पादन निर्यात भएका छन्। वीरगञ्ज सुक्खा बन्दरगाहमार्फत १ अर्ब ५१ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भइसकेका छन्।

दीपक लामिछानेको नेतृत्वमा वीरगञ्ज भन्सारले लिलामी प्रक्रियामा सुधार, व्यवस्थापनमा पारदर्शिता, र निर्यात वृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *