बिरगंज ,३ बैशाख ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा हाल देखिएको साम्प्रदायिक तनावबारे सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गरेका छन्।

मन्त्री यादवले वीरगञ्जलाई ऐतिहासिक क्रान्तिको शहर भन्दै यहाँको मौलिक पहिचान धार्मिक स्थलहरू, पर्व–यात्रा र सामाजिक–सांस्कृतिक सद्भाव रहेको बताए। उनले संविधानले प्रत्येक नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता दिएको उल्लेख गर्दै वीरगञ्जमा विभिन्न समुदायबीचको सहकार्य र सद्भावपूर्ण परम्परालाई कायम राख्न आग्रह गरे।
उनले भने, “वीरगञ्ज सबैको साझा फूलवारी हो। यहाँको शांति, सद्भाव र मेलमिलाप सबैको साझा जिम्मेवारी हो।”
हालैका दिनहरूमा भएको सम्पत्ति तोडफोड, आगजनी, र उत्तेजक अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै उनले दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने बताए।
मन्त्री यादवले तनाव उत्पन्न भएको समयदेखि नै स्थानीय प्रशासन र प्रहरीसँग सम्पर्कमा रहँदै समुदायका अगुवाहरूसँग समन्वय र सल्लाहमार्फत शांति स्थापना गर्न पहल गरिरहेको बताए।
“शांति र सद्भावका लागि नेपथ्यबाट गरिने गंभीर प्रयास नै महत्वपूर्ण हुन्छ,” उनले भने, “हामी सबैको सहकार्यले वीरगञ्ज पुनः आफ्नै लयमा फर्किन्छ भन्ने विश्वास दिलाउन चाहन्छु।”
उनले वीरगञ्ज क्षेत्रका सबै नागरिकलाई संयमता अपनाउन र आपसी सद्भाव कायम राख्न विनम्र अपिल गरे।
