बारा, बैशाख ५।
पत्रकारिताको आडमा व्यापार व्यवसायीहरूलाई धाकधम्की दिई रकम असुली गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बारामा प्राप्त सूचनाका आधारमा खोजतलास गर्दै प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ स्थित गण्डक चोकबाट एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्तिको नाम विष्णु सर्राफ रहेको छ। उनी पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० घडिअर्वा घर भई हाल वडा नं. १६ नवगाटोलमा बसोबास गर्दै आएका छन्। सर्राफ आफैलाई पत्रकार भनेर चिनाउने गरेको र उनका गतिविधिहरू शंकास्पद देखिएपछि अनुसन्धान प्रारम्भ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
