काठमाडौं, ८ बैशाख।
गत चैत्र १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्।
जिल्ला धादिङ, सिद्धलेक गाउँपालिका–१ निवासी ३४ वर्षीय सन्तोष राजावादी उर्फ सन्तोष सिलवाललाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ।
उक्त प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुरयाइएको थियो भने विभिन्न आपराधिक गतिविधि भएको भन्दै प्रहरी अनुसन्धान जारी रहेको छ।
