एसपी तामाङको नेतृत्वमा बारा प्रहरी सक्रिय, १० लाख ८० हजारको चाँदीको गहना बरामद।

समाचार

रसीद आलम

बारा, १० वैशाख – जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा बारा जिल्लामा शान्ति सुरक्षा तथा तस्करी नियन्त्रण प्रभावकारी रूपमा अघि बढाइएको छ।

यही क्रममा, बाराका प्रहरीले १० लाख ८० हजार रुपैयाँ बराबरको ६ किलो अवैध चाँदीका विभिन्न प्रकारका तयार गहना बरामद गरेको छ।

प्रहरी चौकी पथलैयाबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुर, दाङ जाँदै गरेको बा.प्र. ३–२५६ नम्बरको यात्रुबाहक बसबाट ती गहना फेला पारेको हो।

बसको क्याबिनको सिट मुनि शंकास्पद रूपमा टेपले बेरेर राखिएको कार्टुन फेला परेको थियो। खोल्दा कार्टुनभित्र लुकाइ छिपाइ राखिएको चाँदीको रेडिमेड गहना भेटिएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

हाल उक्त गहना बरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। स्थानीयहरूले एसपी तामाङको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानलाई निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *