रसीद आलम
पर्सा, १९ जेठ ।
बिरगंजस्थित सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्मले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छ । गुल्म बिरगंजको कार्यालयमा आयोजित उक्त कार्यक्रममा सिमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, सीमा पार अपराध रोकथाम, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै सिमावासीको गुनासो सुन्दै राय, सुझाव सङ्कलन गर्ने उद्देश्य रहेको गुल्मका गुल्मपति डिएसपी लोकेन्द्र सुब्बाले जनाएका छन् ।
कार्यक्रममा बिरगंज महानगरपालिका वडा नं.–१६ का वडा अध्यक्ष प्रशुराम चौरसियाले बोल्दै राष्ट्रको शान्ति सुरक्षाका लागि स्थानीय सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले सिमामा हुने चोरी–तस्करी नियन्त्रण, सीमा सुरक्षालगायत विभिन्न कार्यमा स्थानीय सिमावासीले निरन्तर सहयोग गर्ने र सुरक्षाकर्मीहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।
उनले भने, “राष्ट्रको शान्ति सुरक्षाका लागि हामी सिमावासी सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न तयार छौँ ।” साथै, उनले भारतसँग खुला सिमाना र चेली–बेटीको सम्बन्ध रहेकाले विवाहको अवसरमा ल्याइने सामानहरूमा सहजता प्रदान गर्न स्थानीय सुरक्षाकर्मीहरूसँग अनुरोध गरेका छन् ।
“विवाहका लागि भारततर्फबाट खरिद गरिएका सरसमान, साथै विवाहमा दिइने सामानहरू नेपाल ल्याउँदा सहज वातावरण बनाउनुपर्छ,” अध्यक्ष चौरसियाले थपे, “यस विषयमा सुरक्षाकर्मीहरूले लचिलो नीति अपनाई स्थानीयवासीको पीडा बुझ्न आवश्यक छ ।”
कार्यक्रममा स्थानीयवासीले पनि चोरी–तस्करी नियन्त्रण, लागू औषध कारोबार नियन्त्रण र सामाजिक सुरक्षामा सुरक्षाकर्मीहरूसँग सहकार्य गर्दै सीमा क्षेत्रमा शान्ति सुरक्षाको वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजका प्रमुख सुब्बाले कार्यक्रमको समापनमा सुरक्षाकर्मीहरू जनताको सेवामा निरन्तर खटिने बताउँदै सिमावासीसँग सहकार्य गरेर शान्ति सुरक्षालाई अझ बलियो बनाइने प्रतिबद्धता जनाए ।
