रसीद आलम,बिरगञ्ज, २७ जेठ ।
मधेस प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा तस्करी नियन्त्रण अभियान मधेस प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिमा अघि बढिरहेको छ। उनको कार्यभार सम्हालेको केही दिन नपुग्दै पर्सा जिल्लामा भन्सार छलि गरी चोरी पैठारी हुने विभिन्न समानहरूसहित ठूलो परिणाममा बरामद गरिएको छ।
आज मात्र पर्सा सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमालको नेतृत्वमा रु. १३ लाख ७१ हजार ९८० बराबरका भन्सार छलिएका विभिन्न समानहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१० बजरंगटोलस्थित ‘सुधा कुञ्ज’ नामको तीनतले पक्की घरको ग्राउण्ड फ्लोरमा भाडामा लिएर धिरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी भण्डारण गरेर राखेको रु. ७,७०,५०० बराबरका कपडाहरू र BR05U4530 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको हो। मोटरसाइकलको अनुमानित मूल्य रु. १,५०,००० कायम गरिएको छ। उक्त सामान र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
त्यस्तै, सोही गुल्मले आजै वीरगञ्ज महानगरपालिका–१० र १६ का विभिन्न सीमा नाकाहरूबाट रु. २,४८,१०० बराबरका कपडा र मसला पनि नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीमा भारतबाट भन्सार छलि ल्याइँदै गरेको BR22T1432 नम्बरको मोटरसाइकलमा लोड गरिएका रु. २३,३८० बराबरका किराना सामानहरू नियन्त्रणमा लिई उक्त मोटरसाइकलको रु. १,८०,००० मूल्यांकन गरिएको छ। नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
यसरी, डिआईजी ढकालको नेतृत्वमा सशस्त्र प्रहरी बलले पर्सा जिल्लामा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै तस्करीका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने कार्यलाई तीव्रता दिएको छ। यसले सीमा क्षेत्रको सुरक्षालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
