वीरगञ्ज, असार १२ । वीरगञ्जमा असार १३ गते शुक्रबार आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च सतर्कताका साथ कडाइ गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, रथयात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई ‘हाइ अलर्ट’ मा राखिएको हो।
वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर पुनर्निर्माणको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने यस रथयात्रामा लाखौँ भक्तजनको सहभागिता हुने गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिले अनुमान गरेको छ।
गत चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई धर्मसमुदायबीच भएको झडपपछि वीरगञ्ज तीन दिनसम्म तनावग्रस्त बनेको तथा कर्फ्यु लागू भएको स्मरण गर्दै प्रशासनले यसपटक विशेष संवेदनशीलता अपनाएको हो।
बिहीबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोलीले रथयात्रा परिक्रमा गर्ने सम्पूर्ण रुटको स्थलगत निरीक्षण गरी आवश्यक सुरक्षा योजना तयार गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। उनले भने, “रथयात्राको सुरक्षाका लागि प्रशासन र प्रहरी पूर्ण रूपमा सतर्क छन्। व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिनेछ।”
यसअघि जिल्ला प्रशासन कार्यालयमा आयोजक समिति, वीरगञ्ज महानगरपालिका प्रतिनिधि तथा सुरक्षा निकाय प्रमुखहरूको समन्वय बैठक सम्पन्न भएको थियो। प्रशासनले सम्पूर्ण श्रद्धालु तथा स्थानीयवासीलाई शान्तिपूर्ण र व्यवस्थित सहभागिताका लागि आग्रहसमेत गरेको छ।

यसैबीच, गहवामाई रथयात्राका दिन वीरगञ्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूलाई बिदा दिइएको महानगरपालिकाले जनाएको छ।
