वीरगञ्जको मुख्य सडकमा डोजर चल्यो, सडक विस्तार अभियान पुनः सुरु

समाचार

वीरगञ्ज, असार १६ — वर्षौँदेखि अलपत्र परेको वीरगञ्जको २५ मिटर सडक विस्तार योजना आजदेखि पुनः सुरु गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा मुख्य सडक (मेनरोड) क्षेत्रमा डोजर चलाएको हो।

सोमबारबाट सुरु भएको अभियानअन्तर्गत वीरगञ्ज भन्सार क्षेत्रअन्तर्गतको मेनरोडमा अवैध रूपमा रहेका संरचना हटाउने काम थालिएको छ। नगरप्रमुख सिंहका अनुसार अब आदर्शनगर, माईस्थान र घण्टाघर क्षेत्रसम्मको मुख्य सडक विस्तार कार्यलाई निरन्तरता दिइनेछ।

“सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरिसकेपछि अब कानुनी रूपमा कुनै अवरोध छैन,” मेयर सिंहले भने, “रीट खारेज भइसकेकाले पूर्णपाठ सार्वजनिक गर्नु आवश्यक छैन। अभियानलाई निरन्तरता दिइनेछ।”

सिंहले यसलाई “सडक विस्तारको ऐतिहासिक अभियान” भन्दै महानगरपालिकाले दृढता र नीतिगत स्पष्टताका साथ अगाडि बढाउने दाबी गरे। यस अभियानबाट वीरगञ्जको ट्राफिक व्यवस्थापन, सौन्दर्यकरण तथा समग्र शहरी पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *