रसीद आलम
बारा, साउन २ ।
जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध कारोबारविरुद्ध सञ्चालन गरिरहेको अभियान अन्तर्गत सिमरा क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एकजनालाई नियन्त्रणमा लिएको छ।
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको समन्वयमा, इलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको नेतृत्वमा लागुऔषध कारोबारमाथि कडा निगरानी र कारवाही जारी राखिएको छ। सोही अभियान अन्तर्गत आज बिहान ७:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रनानि बब्बि बम्जनको कमाण्डमा खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई पथलैया चोकमा रोकी चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा कालो झोलामा गाँजा लुकाइराखेको अवस्थामा सवार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति बारा जिल्ला, सिम्रौनगढ नगरपालिका–७ मलाही टोल निवासी अन्दाजी ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेको प्रहरीले जनाएको छ। झोलाबाट १० किलो ७७८ ग्राम गाँजा बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको र लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
