ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट “पोलिस अफ द मन्थ” घोषित

समाचार

(ट्राफिक व्यवस्थापन, राजस्व संकलन र जनचेतनामा उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन)

वीरगंज, ६ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट “POLICE OF THE MONTH” घोषित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाद्वारा असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा उहाँलाई छनोट गरिएको हो।

प्रहरी निरीक्षक भट्टले विभागीय मूल्य मान्यता, आदेश, निर्देशन अनुरूप इमान्दारिता, कर्तव्यपरायणता, अनुशासन र लगनशीलताका साथ कार्य गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहत इकाइहरूमा ट्राफिक व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको थियो।

हालै सम्पन्न आर्थिक वर्षको समिक्षामा, अघिल्लो वर्षको तुलनामा मधेश प्रदेशअन्तर्गतका आठवटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये वीरगंज ट्राफिक कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको छ। यसैगरी, कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्त गर्न तथा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उहाँको नेतृत्वमा कार्यालयले उत्कृष्ट भूमिका निर्वाह गरेको थियो।

यिनै उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको “पोलिस अफ द मन्थ” घोषित गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो ।

उक्त उपलब्धिले वीरगंज ट्राफिक प्रहरी टोलीको समर्पण, क्षमता र सेवामूलक दृष्टिकोणलाई उजागर गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *