मकवानपुर, ११ साउन — मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरी बल नेपालले भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमार्फत फल्स बटम (नक्कली तल्लो भाग) बनाएर ल्याइँदै गरेको ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
साउन १० गते विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त सवारी साधन चेकजाँच गर्दा लुकाइछिपाइ ल्याइएको ईन्जेक्सन प्रकारको लागूऔषध फेला पारेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
लागूऔषध तस्करीको नयाँ शैलीको रुपमा फल्स बटम प्रयोग गरिएको हुँदा सुरक्षाकर्मीहरू थप सतर्क र चनाखो बनेका छन्।
