काठमाडौं, साउन १९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को नतिजा प्रकाशित भएलगत्तै सामाजिक सञ्जालमार्फत् सम्पूर्ण उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनिस्तानको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै भनेका छन्,
“भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरू ! तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं। फेरि पनि बधाई सबैलाई।”
उनको यो सन्देशले देशभरका विद्यार्थीहरूलाई थप उत्साहित बनाएको छ। कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका हजारौं विद्यार्थीहरू अहिले उच्च शिक्षाका लागि योजना बनाइरहेका छन्। प्रधानमन्त्री ओलीको देशमै पढ्न र केही गर्न प्रेरणा दिने सन्देशलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
