रसीद आलम
बिरगंज, २० साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका गणपति प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै पर्सा जिल्लामा भन्सार छली गरी ल्याइएका अवैध सामानहरूमाथि निरन्तर कारबाही भइरहेको छ। सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साले हालै करिब रु. ७,८५,६७५ बराबरका विभिन्न सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ।
प्राप्त विवरणअनुसार, मिति २०८२।०४।१७ गते, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवा क्षेत्रमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू सहित २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। ती मोटरसाइकलहरूमा लोड गरी ल्याइएका कपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक्स सामानहरूको कुल मूल्य रु. ४,३८,०७५ रहेको छ। बरामद सामानसहितका मोटरसाइकलहरू समेत आवश्यक कारबाहीका लागि २०८२।०४।१८ गते जिल्ला भन्सार कार्यालय, बिरगंजमा बुझाइएको हो।
यस्तै, अर्को सफल अपरेशनमा, २०८२।०४।१८ गते, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको अर्को टोलीले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित एक गोदाममा छापा मार्दा त्यहाँ भन्सार छली गरी भण्डारण गरिएको कपडा र अन्य सामग्रीहरू फेला पारेको हो।
उक्त गोदामबाट रु. २,६४,७०० बराबरको कपडा र रु. ८२,९०० बराबरका अन्य विभिन्न किसिमका सामानहरू बरामद गरिएको छ। यी सबै अवैध सामानहरू पनि आवश्यक कारबाहीको लागि सोही दिन बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। एसपी भट्टको नेतृत्वमा सञ्चालन भइरहेको निगरानी, अनुगमन र गस्ती कार्यले सीमा क्षेत्रका तस्करी संलग्न समूहहरूलाई थप निष्क्रिय बनाउँदै गइरहेको देखिन्छ।
सरकारको नीति अनुसार सशस्त्र प्रहरीले अवैध व्यापार रोक्नका लागि सीमा सुरक्षामा सक्रिय भूमिका खेलेको स्पष्ट देखिएको छ।
